Menu Close

एनआरएनए स्कटल्यांडको नयाँ कार्यसमितिद्वारा शपथ ग्रहण 0/08/2021

बेलायत / स्कटल्यांड / गैर आवासीय नेपाली संघ स्कटल्यांड राज्य परिषदको नव निर्बाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। काउडेनविथ स्कटल्यांडस्थित नमस्ते शिम्ला प्यालेस रेष्टुरेण्टमा आयोजित एक कार्यक्रममा निर्बाचन समिति संयोजक राम बगालेले एनआरएनए स्कटल्यांडका काशीराम भण्डारी नेतृत्वको कार्यसमितिमा निर्बाचित सबैलाई पद तथा गोपनीयताको सपथ गराएका थिए। उक्त समारोहमा सपथ लगतै प्रमाण पत्र पनि बितरण गरिएको थियो।

स्कटल्यांडको प्रतिनिधित्व गर्दै एनआरएनए युकेमा उपाध्यक्ष पदमा बिजयी मोहन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष भण्डारी, उपाध्यक्ष उज्ज्वल कार्की, सचिब मनीष खत्री, कोषाध्यक्ष शर्मिला ढकाल, सहसचिव सुमि ओझा, सहकोषाध्यक्ष प्रजापति शर्मा, सदस्यहरु बलीभद्र अमाई, टिकाराम खरेल, कमला श्रेष्ठ र कृष्ण देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए।

सम्पूर्ण बिजयी पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले बिगतका कमी कमजोरीलाई सुधार गरी एनआरएनएको पवित्र अभियानलाई सफल पार्न लागी पर्ने र संस्थाको गरिमा बढ़ाउने भन्दै आगामी दिनमा अग्रज, मान्यजनहरू र सबै स्कटल्यांडबासी नेपाली समुदायको सल्लाह अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रमुख अतिथि तथा एनआरएनए युके उपाध्यक्ष कार्की, बिशेष अतिथि भोला खनाल, निबर्तमान अध्यक्ष छबीलाल अर्याल, निवर्तमान संरक्षक यज्ञमूर्ति ढकाल, स्थानीय समाजसेबी टिका लिम्बु, दिवाकर पाण्डे, राम प्रसाद कंडेल, राजेन्द्र बम, माधव रेग्मी, घनश्याम भण्डारी, डा. शिव तिवारी लगायतले नब निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागी शुभकामना दिएका थिए।

 

गैर आवासीय नेपाली संघ, युके, राज्य समिति स्कटल्यान्डद्वारा आयोजित बेलायतका लागि नेपाली राजदुत महामहिम लोकदर्शन रेग्मी तथा उपनियोग प्रमुख रोशन खनालको स्वागत तथा साक्षात्कार कार्यक्रम 01/09/2021

लन्डन । लन्डनस्थित नेपाली दूतावासले स्कटल्यान्डवासी नेपालीहरुमाझ आफ्नो सेवा थप सहज र प्रभावकारी बनाउने प्रतिवद्धता गरेको छ ।

बुधबार एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदले काउडेनबीचमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  राजदूत लोकदर्शन रेग्मीले दूतावासले नियमित रुपमा स्कटल्यान्ड पुगेर घुम्ती सेवा प्रदान गर्ने घोषणा गरेका हुन् ।  

‘स्कटल्यान्डमा रहनुभएका नेपालीहरुको आवश्यकताअनुसारको सेवा उपलब्ध गराउन दूतावास तत्पर छ’, राजदूत रेग्मीले भने, ‘सेवाको माग हेरेर हरेक एक महिना, तीन महिना वा छ महिनामा दूतावासको टोली तपाईंहरुकै माझमा आएर सेवा प्रदान गर्नेछ ।’

स्कटल्यान्डमा दूतावासको घुम्ती सेवाको माग गर्दै एनआरएनए यूके उपाध्यक्ष मोहन कार्कीले गत महिना लन्डन दूतावास पुगेर राजदूत रेग्मीलाई ज्ञापनपत्र बुझाएका थिए । उपाध्यक्ष कार्कीकै पहलमा स्कटल्यान्डमा घुम्ती सेवा लिएर पुगेका राजदूतले अबदेखि नियमित सेवा संचालनको प्रतिवद्धता गरेका छन् ।  

बुधबार एनआरएनए स्कटल्यान्डका तर्फबाट अध्यक्ष काशीराम भण्डारीले बुझाएको ज्ञापनपत्र ग्रहण गरेपछि मन्तव्य दिंदै राजदूतले स्थानीय नेपालीहरुको भावना र चाहना सम्बोधनका लागि दूतावासले आवश्यक पहल गर्ने विश्वास दिलाए ।  

पासपोर्ट, भिसा, एनआरएनए कार्डसहितका अधिकांश सेवाका लागि स्कटल्यान्डबाट लन्डन धाउनु नपर्ने राजदूतको घोषणालाई स्थानीय नेपालीहरुले स्वागत गरेका छन् ।  

कार्यक्रमको शुरुमा राजदूत रेग्मीसहितको दूतावासको टीमलाई पञ्चेबाजा बजाएर स्कटल्यान्डमा स्वागत गरिएको थियो । त्यसअवसरमा दूतावासका तर्फबाट एनआरएनए स्कटल्यान्डको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

एनआरएनए स्कटल्यान्ड अध्यक्ष काशीराम भण्डारीले राजदूतसहित दूतावास टीमलाई स्वागत गर्दै स्थानीय नेपालीहरुको सुविधालाई ध्यानमा राखी दूतावासले सेवा दिने विश्वास व्यक्त गरे । एनआरएनएको तर्फबाट आवश्यक सबै सहयोग, समन्वय  र सहकार्य रहने उनले प्रतिवद्धता गरे ।  

त्यसअवसरमा राजदूत रेग्मीलाई बुझाइएको ज्ञापनपत्र परिषदका उपाध्यक्ष उज्ज्वल कार्कीले पढेर सुनाए । ज्ञापनपत्रमा स्कटल्यान्डका नेपालीलाई दूतावासका सेवामा पहुंच सहज बनाउनका साथै नेपाली नागरिकता निरन्तरता, पूर्व गोर्खाहरुको समान अधिकार स्थापना, बेलायत सरकारबाट नेपाललाई थप कोभिड सहायताको प्रबन्ध लगायतका विषयमा पहल अघि बढाउन माग गरिएको छ ।  

उपाध्यक्ष कार्कीले बेलायतमा हुर्किंदै गरेका नेपाली बालबालिकाको लागि नेपाली भाषा, संस्कृति सिकाउने साझा पाठ्यक्रम ल्याइनुपर्ने आवश्यकतातर्फ दूतावासको ध्यानकर्षण पनि गराएका थिए ।      

कार्यक्रमको दोस्रो चरणमा राजदूत रेग्मी, दूतावासकी उपनियोग प्रमुख रोशन खनालसहितका अधिकारीले स्थानीय नेपालीहरुसँग अन्तरक्रिया गरे । उनीहरुले सेवाग्राहीका गुनासोहरु सुन्दै राखिएका प्रश्न र जिज्ञासाको जवाफ पनि दिए ।  

सोही अवसरमा दूतावासको टोलीले केही सेवाग्राहीहरुलाई एनआरएनए कार्ड, पासपोर्ट, भिसा लगायतका सेवा समेत दिएको थियो ।  

कार्यक्रमको संचालन स्कटल्यान्ड परिषद सचिव मनिष खत्रीले गरेका थिए । प्रमुख संरक्षक भोला खनालले स्वागत मन्तव्य दिएका थिए । महिलाहरुको प्रतिनिधित्व गर्दै परिषदकी सहसचिव सुमी ओझा भण्डारीले मन्तव्य राखेकी थिइन् । 

एन आर एन ए स्कटल्यान्ड राज्य समितिद्वारा संयोजक नियुक्त 25/10 /2021

हालै सम्पन्न (२५/१०/२०२१) एन एर एन ए स्कटल्यान्ड राज्य समितिको बैठकबाट  श्री  राम  श्रेष्ठ ज्यु – युवा तथा खेलकुद सम्योजक, कमला श्रेष्ठ ज्यु – सांस्कृतिक  सम्योजक,  सुमी ओझा भण्डारी ज्यु- महिला सम्योजक तथा  घनश्याम भण्डारी ज्यु- परोपकारी कोष संयोजकमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।